शास्त्रीय संगीतमा ५५ वसन्त पार गरिसक्नुभएका वरिष्ठ संगीतज्ञ पं अच्युतराम
भण्डारीको जन्म वि. सं २०१६ आषाढ १५ गते काठमाडौँको गोकर्णमा भएको हो ।
संगीतमा रुची, वादनमा अभिरुची भएका परिवारमा जन्मिएका हुनाले सानैदेखि
सांगितिक वातावरणमा रम्ने, झुम्ने र बुझ्ने मौका मिल्यो । उहाँको मनोभावलाई
बुझेर ७ वर्षको हुँदा पिताले घरमै संगीतका गुरु राखीअभ्यास गर्ने अवसर
मिलाइदिनुभएको थियो । यसरी संगीतको सुर, ताल, आरोह, अवरोहमा तातेताते गर्ने
मौका एवं तबला र हार्मोनियमसँग परिचय गर्ने शुभअवसर मिल्यो । बाल्य आवाजलाई
स्वर र कलिला हातले वादनलाई समाउने सुयोग मिल्यो जसले गर्दा आज संगीतज्ञको
लामो यात्रा पार गर्नुभयो ।
सङ्गीतअनुरागी परिवारमा जन्मनुभएकाले भजन, कीर्तनको माहोल घरमा थियो ।
बिहान र बेलुका भगवान्को संकीर्तन गरेर खाना खाने प्रचलन हुनाले संकीर्तन
दैनिकी नै बन्न पुग्यो । १० वर्षको उमेरमा नाचघरमा नृत्य, नाटक, हारमोनियम
वादन, गायनमा प्रशिक्षित हुने अवसर मिल्यो । यसरी एकपछि अर्को गर्दै संगीतको
महायज्ञमा चरु होम्ने अवसरले उहाँलाई दिन प्रतिदिन संगीतको प्यासी मात्र होइन
अनुरागी नै बनायो । विधाताले उहाँलाई संगीतकै उच्च शिक्षा लिनका लागि वनारस
लाग्ने सुयोग मिलाइदियो । यही क्रममा तबला बादक गोपालनाथ योगीमार्फत पं
होमनाथ उपाध्यायको सान्निध्यमा पुग्नुभयो । संगीत सिक्ने क्रममा अनेकौँ
बाधाहरुसँग पौठेजोडी खेल्दै वनारसका लब्धप्रतिष्ठ गुरुहरुको छाहारी मिल्यो । पं
छोटेलाल मिश्र, पं. होमनाथ उपाध्याय, पं शम्भुप्रसाद मिश्र, ज्याकिर हुसेनजस्ता
स्वनाम धन्य गुरुहरुको श्रीचरणमा रही संगीत साधना गर्न थाल्नुभयो । संस्कृत गुरु
पं तीर्थराज अग्निहोत्रीको आशीर्वाद त छँदै थियो ।
उच्च शिक्षा पश्चात् मातृभूमिमा फर्किएर राष्ट्रिय नाचघर, सांस्कृतिक संस्थान,
तत्कालिन रोयल नेपाल एकेडेमी, होटेल डे अन्नपूर्ण, सृजना कलेज अफ फाइन
आर्टस्, ललितकला क्याम्पस (त्रि. वि.वि.), नेपाल संगीत विद्यालय, अनेकौँ टेलिभिजन
आदिमा सेवा प्रदान गर्नुभयो । नेपालको शिर उच्च बनाउँदै एशिया, युरोप,
अमेरिकाका अनेकौँ विश्वविद्यालयमा समेत प्रशिक्षण गराइसक्नुभएका भण्डारीका २०
भन्दा धेरै संगीत सम्बन्धि पाठ्यपुस्तक प्रकाशित भइसकेका छन् भने केही
प्रकाशोन्मुख छन्। अनुभवलाई समेटेर युगको आवश्यकतालाई बुझेर पुस्तक प्रकाशन
गर्ने हुँदा ती ग्रन्थहरु पठनीय, मननीय, संग्रहणीय बन्न पुगेका छन्।
त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि सितार वादन र गायनको मात्र शिक्षा
दिइँदै आएकोमा उहाँको अथक प्रयासको कारण मेजर तबलाको शिक्षा दिन थालिएको
छ ।नामलाई भन्दा कामलाई,सम्पत्तिलाई भन्दा संगीत प्रचारलाई ध्यानमा राखी
सांगितिक यात्रा गरेकै कारण कैयौँ संस्थाबाट सम्मानित, पुस्तकृत, अभिनन्दित
भण्डारी सादा जीवन उच्च विचारका पक्षपाती हुनुहुन्छ ।सन् १९९४ मा
भण्डारीलगायतको समूहले करिब ४ महिना डेनमार्कमा संगीतिक कार्यक्रम संचालन
गर्नुभयो । प्राप्त रकम त्यतिबेला आन्तरिक समस्याले ग्रस्त इथियोपियालाई सहयोग
गर्नुभएकोथियो ।
मन, वचन र कर्मले अनवरत रुपमा संगीत सेवारत भण्डारीका अनेकौँ
शिष्य÷शिष्याहरु छन् । संगीत शिक्षालाई व्यापारीकरण गरिनुहुन्न, सर्वसुलभ र
सकेसम्म निःशुल्क गरिनुपर्छ भन्ने उद्देश्यले भर्खरै अच्युतराम भण्डारी संगीत
प्रतिष्ठानको स्थापना भएको छ । उहाँको संरक्षकत्वमा यस संस्थाले संगीतमा रुची
भएका तर आर्थिक रुपमा विपन्नहरुले पनि लाभ लिइरहेका छन्। उहाँले विगत चार
दशकदेखि आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई निःशुल्क प्राध्यापन गर्दै आउनुभएको
छ ।जीवनलाई संगीतमा खर्चिएका भण्डारीले शास्त्रीय संगीतका माध्यमबाट
राष्ट्रसेवामा दिनुभएको योगदान स्तुत्य छ । सबैलाई जगाउन, सघाउन, संगठित गर्न
संगीतको कस्तो भूमिका हुन्छ भण्डारीका प्रयास र तपस्यालाई हेर्दा हुन्छ । व्यक्तिगत,
संस्थागत रुपमा जेजति गर्नुभएको छ त्यसले भावी पुस्तालाई अवश्य मार्गदर्शन गर्ने
छ ।